काठमाडौँ
बागमती प्रदेशको राजधानी हेटौंडामा अवैध गोरु तस्करीको बढ्दो प्रकरणबीच प्रहरीले ठूलो सफलता हासिल गरेको छ। गतराति हेटौडा उपमहानगरपालिका वडा नं ३, बस्तीपुरबाट २५ वटा गोरुसहित ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिइएको छ।
पशु निर्देशनालय मकवानपुरका अनुसार बरामद ट्रक ०२–०३–०१ ख ०७०७ नम्बरको रहेको छ। यस घटनाले हेटौँडामा चलिरहेको तस्करी सञ्जालको गहिराइ थप पुष्टि गरेको छ। पक्राउ परेका चालक र सहचालकलाई प्रचलित कानुन अनुसार कारबाही गरिने जानकारी पशु निर्देशनालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले दिएका छन्।
यद्यपि यति ठूलो संख्यामा गोरु लामो दूरीसम्म, सम्भवतः अन्तर्राष्ट्रिय सीमासम्म पु-याउन प्रहरी प्रशासनभित्र ‘सेटिङ’ भएको आशंका गरिएको छ। पशु निर्देशनालयले बरामद गरिएको गोरुको संख्या र ट्रकको विवरण पुष्टि गर्दै अवैध पशु ओसारपसार नियन्त्रण गर्न थप कडाइ गर्नुपर्ने माग गरेको छ।
नेपाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। विशेषज्ञहरूले अवैध निकासी रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक भएको बताएका छन्।