मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईले प्रधानमन्त्री सुशीला कार्कीमाथि कठोर टिप्पणी गर्दै जेनजीहरुसँगको वार्तामा उनले देशको महत्वपूर्ण समय खेर फालेको आरोप लगाएका छन्। मानव अधिकार आयोगका अध्यक्षसँग भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पाँच हजारभन्दा बढी जेनजीहरु मन्त्री बन्ने तयारीमा रहेको बताउँदै प्रधानमन्त्रीले वास्तविक जनसमस्या भन्दा सत्ता र वार्तामा मात्र समय खर्चिरहेको दाबी गरे। प्रसाईँका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा सरकार निष्क्रिय र दिशाहीन बन्दै गएको छ।
उनले प्रधानमन्त्रीको स्वास्थ्य र कार्यशैलीप्रति पनि व्यंग्य गरे। “प्रधानमन्त्री बसेर उठ्न नसक्ने अवस्थामा पुगिसक्नुभएको छ,” भन्दै उनले सरकार अब जनताका समस्यामाथि ध्यान दिन सक्ने अवस्थामा नरहेको टिप्पणी गरे। उनका भनाइअनुसार, वर्तमान सत्ता केवल औपचारिक रूपमा टिकेको छ तर व्यवहारिक रूपमा शून्य नतिजा दिइरहेको छ।
प्रसाईँले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)माथि पनि प्रहार गर्दै आफूलाई पक्राउ गर्न खोजिरहेको आरोप लगाए। उनले भने, अहिले बालेन साह दुर्गा प्रसाईलाई खेद्दै हिँडिरहेका छन् तर एकदिन उनी नै आफूलाई जोगाइदिन अनुरोध गर्न आउनेछन्। उनले प्रश्न गरे, “यो देश बालेनको मात्र हो र? हाम्रो होइन?” भन्दै बालेनले आफ्ना सबै कामलाई मात्र असाधारण देखाउने प्रवृत्तिको आलोचना गरे।
अन्त्यमा, उनले मंसिर ७ गतेदेखि सुरु हुन लागेको व्यवस्था परिवर्तन आन्दोलनबारे जानकारी दिँदै कुनै प्रकारको अराजक गतिविधि नहुने स्पष्ट पारे। उनले आन्दोलन शान्तिपूर्ण र अनुशासित ढंगले सञ्चालन गरिने र यसको उद्देश्य देशमा सकारात्मक परिवर्तन ल्याउने रहेको बताए। प्रसाईँले जनतालाई आन्दोलनमा सहभागी हुन आह्वान गर्दै यो आन्दोलन देशको हितमा हुने दाबी गरे।