काठमाडौँ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइ गर्न सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सदस्य छन्। उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ आजदेखि सुरु भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए। जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन गर्न संसद्मा बहुमत नठहरेकाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारले सिफारिस गरेपछि प्रतिनिधि सभा विघटन गरिएको हो।
अधिवक्ताहरू प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, डा. पुण्यप्रसाद खतिवडा लगायतले अन्तरिम सरकार गठनदेखि प्रतिनिधि सभा विघटनसम्मका सबै प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्धका सबै रिट र अन्य विभिन्न मागसमेत गरी कुल १६ वटा रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी चढेका छन्।