काठमाडौँ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकासमन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न आह्वान गरेका छन्। मन्त्री घिसिङले नेपाल स्वच्छ ऊर्जाको यात्रामा नयाँ युगतर्फ प्रवेश गरेको बताए र जलविद्युत तथा सौर्य ऊर्जाको अपार सम्भावना औंल्याए। उनले मित्र राष्ट्र र साझेदारहरूलाई नेपालको नविकरणीय ऊर्जामा लगानी गरी उज्यालो र हरित भविष्य निर्माण गर्न निम्तो दिएका छन्।
उनले नेपालमा जलविद्युत स्रोत क्षेत्रीय ग्रिडका लागि लचिलो र स्थिर भएको उल्लेख गर्दै यसले न केवल देशको विकासमा योगदान पुर्याउने तर दक्षिण एशियाको प्रमुख स्वच्छ ऊर्जा निर्यातक बन्न सक्ने बताए। मन्त्री घिसिङले सन् २०३५ सम्म १५ हजार मेगावाट नविकरणीय ऊर्जा निर्यात गर्ने लक्ष्य राखिएको र नेपाल र भारतले उच्च क्षमताका प्रसारण लाइन निर्माण गरिरहेको जानकारी दिएका छन्।
नेपालमा झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत सम्भावना रहेको उल्लेख गर्दै मन्त्री घिसिङले यी स्रोतहरू छिमेकी देशहरूको सौर्य र वायु ऊर्जासँग पूरक हुने बताए। यसले स्वच्छ, दिगो र पहुँचमा सहज ऊर्जाको प्रवाह सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
घिसिङले अन्तरआवद्ध प्रसारण सञ्जालमार्फत विभिन्न क्षेत्रबीच ऊर्जा प्रवाह सम्भव हुने, लागत घट्ने र विद्युत पहुँच विस्तार हुने बताए। उनले “एक सूर्य, एक विश्व, एक ग्रिड” अवधारणालाई जोड दिँदै क्षेत्रीय देशहरूलाई एकीकृत विद्यु्त बजारतर्फ अघि बढ्न आह्वान गरे, जसले स्वच्छ ऊर्जालाई सीमाना नाघेर दिगो र सहज रूपमा प्रवाहित गर्ने लक्ष्य हासिल गर्न मद्दत गर्नेछ।