काठमाडौँ
वाङ चुआनफु, जो चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन्, एक साधारण किसान परिवारमा जन्मिएका थिए। बाल्यकालमा आमा–बुबा गुमाएपछि उनका दाजुभाइहरूले उनको पढाइका लागि सहयोग गरे, जसले उनलाई केमिस्ट्री र मेटालर्जीमा अध्ययन गर्न र पछि ब्याट्री प्रविधिमा स्नातकोत्तर गर्न सक्षम बनायो। उनले केही वर्ष सरकारी अनुसन्धान संस्थानमा काम गरेपछि १९९५ मा आफ्ना नातेदार लु सियाङयाङको सहयोगमा २५०,००० युआन लगानी गरी बी वाइ डी अटो कम्पनी स्थापना गरे। सुरुमा मोबाइल ब्याट्री निर्माण गर्ने कम्पनीले छोटो समयमा विश्वकै प्रमुख ब्याट्री उत्पादक बन्न सफल भयो।
२००३ मा वाङले कम्पनीलाई मोटर उद्योगतर्फ मोड्दै किन्चुआन मेसिनरी वर्क्स खरिद गरे र बीवाईडी अटो स्थापना गरे। उनले २००५ मा पहिलो कार F3 बजारमा ल्याए, जसले ठूलो सफलता पायो। २००८ तिर उनले इलेक्ट्रिक र हाइब्रिड सवारीसाधनमा जोड दिए, तर सुरुमा यो निर्णयमा सबै लगानीकर्ता सहमत थिएनन्। यस अवधिमा कम्पनीको मूल्य घटे पनि वाङको दृष्टि दीर्घकालीन सफल सावित भयो।
बीवाईडी प्रति चार्ली मङ्गर र वारेन बफेटको रुचिले कम्पनीको भाग्य पल्टायो। बफेटको बर्कशायर हथवेले करिब २३२ मिलियन डलर लगानी गरेपछि कम्पनीले तीव्र गतिमा विस्तार गर्यो। यस लगानीले अन्तर्राष्ट्रिय बजारमा विश्वास बढायो र बीवाईडीले १२-मीटरको पूर्ण इलेक्ट्रिक बसदेखि लिएर नयाँ ऊर्जा सवारीसाधनहरू उत्पादन गर्न थाल्यो। कम्पनीको शेयर मूल्य पाँच गुणा बढ्यो र २००९ सम्म वाङ चीनका सबैभन्दा धनी व्यक्ति बने।
आज बीवाईडीले बिक्रीको हिसाबले टेन्सलालाई पछाडि पारेको छ र विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादक बनेको छ। वाङको विनम्र जीवनशैली अझै पनि उनको विशेषता हो, उनी इकोनोमी क्लासमा यात्रा गर्छन्, आफ्नै झोला बोक्छन् र साधारण खानपान रोज्छन्। जस व्यक्तिलाई कहिल्यै “पागल” भनेर हेरिएको थियो, उनले आफ्नो दृष्टि, परिश्रम र नवप्रवर्तनबाट सिद्ध गरे, उनी वास्तवमै “जिनियस” हुन्।