काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव ले आफ्नो पार्टीले आगामी निर्वाचनको तयारी र संसद् पुनःस्थापनाको मुद्दालाई सँगसँगै अगाडि बढाउने बताएका छन्। सुनवलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन गम्भीर नदेखिएको भन्दै संसद् पुनःस्थापनाको एजेन्डा पार्टीले नछोडेको स्पष्ट पारे।
उपमहासचिव ज्ञवालीले 'जेनजी' युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना आवश्यक रहेको जिकिर गरे। उनले चुनाव गराउनका लागि सुरक्षा चुनौती रहेको औंल्याउँदै प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहेको विषयमा चिन्ता व्यक्त गरे।
"फेरि पनि समझदारीका साथ अगाडि बढ्न सकिन्छ," ज्ञवालीले भने, "भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग बसेर वार्ताका माध्यमबाट न्यूनतम विषयमा समझदारीपछि संसद् पुनःस्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अगाडि बढ्न सकिन्छ।"
उनले पार्टीको महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुङ्गो लगाउने पनि जानकारी दिए। ज्ञवालीको यो भनाइले एमाले निर्वाचनको तयारीमा जुटे पनि संसद् पुनःस्थापनाको मागबाट पछि नहटेको र यसलाई राजनीतिक समाधानको एक महत्त्वपूर्ण पाटोका रूपमा हेरेको स्पष्ट पारेको छ।