काठमाडौँ।
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालको महिला राष्ट्रिय टोली इरानसँग ३-० गोलले पराजित भएको छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इरानले तीन गोल गर्यो।
इरानका लागि सारा दिदारले ४९औं मिनेटमा, कप्तान जाहरा घानबारीले ५२औं मिनेटमा र सबनम बिहिसेतले ५७औं मिनेटमा गोल गरेका थिए। यसअघि, नेपालले भारतमै भएको हिरो गोल्ड कपमा इरानलाई ३-० ले हराएको थियो।
प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल कात्तिक १० गते भारतसँग खेल्नेछ। यी दुई खेल फिफा विन्डो अन्तर्गतका हुन्। यस प्रतियोगितापछि कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल पनि हुनेछ।