काठमाडौँ।
नयाँ शक्ति पार्टी (नेसपा) का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको वर्तमान राजनीतिक अवस्थालाई "पुरानो मरेको तर नयाँ नजन्मिएको राक्षसहरूको काल" भन्दै गम्भीर आत्ममन्थन आवश्यक भएको टिप्पणी गरेका छन्।
प्रगतिशील चिन्तक आन्तोनियो ग्राम्सीको भनाइ उद्धृत गर्दै उनले वरिष्ठ भारतीय पत्रकार भारत भूषणले प्रयोग गरेको उक्त उपमा नेपालको हालको अन्तरिम राजनीतिक अवस्थासँग सान्दर्भिक रहेको बताएका छन्।
फेसबुकमार्फत भट्टराईले नेपालीले हीनताबोध पाल्न जरुरी नभएको र २००७ देखि २०७२ सम्म ठूला बलिदानीपूर्ण संघर्ष गर्दै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएको उल्लेख गरेका छन्। उनले अहिलेको जेनजी आन्दोलनले समाजमा गहिरो गरी फैलिएका भ्रष्टाचारका धमिराहरूमाथि "जबर्जस्त मुक्का" प्रहार गरेको बताए।
भट्टराईले अब सबै अग्रगामी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूले एकजुट भई भरपर्दो नयाँ राजनीतिक विकल्प तयार पार्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले जेनजी पुस्ताका युवाहरू, नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू, पुराना दलभित्रका सुधारवादी धारहरू र नागरिक अगुवाहरूले सुशासन र समृद्धिको अभियानमा अग्रणी भूमिका लिनुपर्नेमा जोड दिएका छन्। "सुशासित र समृद्ध नेपाल हाम्रै पालामा अवश्य बन्छ, बनाउनु पर्छ,"भट्टराईले भने।