काठमाडौँ।
हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यो पर्व मनाउँछन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भए पनि यस वर्ष तिथि वृद्धि भई तिहारको छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको बताएको छ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।
बालगोपालेश्वर मन्दिर खुला
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। यो मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। यस्तै, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। भक्तपुरका नेवार समुदायका केहीले भने बुधबार नै किजापूजा गरेको जनाइएको छ।