काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई केन्द्रीय सदस्यहरूले अध्यक्ष पदबाट राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्न सुझाव दिएका छन्। ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बिहीबार जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै सदस्यहरूले यस्तो सुझाव दिएका हुन्। साथै, उनीहरूले एमाले पूर्वउपाध्यक्ष विद्या देवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने माग पनि गरेका छन्।
बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले अध्यक्ष ओलीको राजीनामा माग गर्दै नेतृत्व हस्तान्तरण हुनुपर्ने सुझाव दिए। मानन्धरले पार्टी जनतासँग एकाकार हुन नसकेको भन्दै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याए।
मानन्धरले भने, "जनतासँग एकाकार हुने राजनीतिसँग पार्टीलाई जोड्न सक्नुपर्छ, तर अध्यक्ष कमरेड आजसम्म त्यसमा सफल देखिनुभएको छैन। देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट जोगाउन उहाँले सहयात्री कमरेडहरूमाथि विश्वास गर्दै राजीनामा दिनु आवश्यक छ।" उनले थप भने, "सामूहिक नेतृत्वको अभ्यास आजको ऐतिहासिक आवश्यकता बनिसकेको छ, अब ढिला गर्नुहुँदैन, पार्टीलाई थप क्षति हुनबाट सबै मिलेर जोगाऔं।"
केन्द्रीय सदस्यहरूको यो सुझाव र मागले एमालेभित्र नेतृत्व परिवर्तन र पार्टीको भावी दिशाबारे गम्भीर बहस सुरु भएको संकेत गरेको छ। राजधानी दैनिकबाट