काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा वरिष्ठ पत्रकार राम रावल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीको सचिवालयले रावलको नियुक्ति पुष्टि गरेको हो।
रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन्। उनले २०६० सालमा दृष्टि साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। त्यसपछि उनले केही समय नेपाल एफएममा पनि काम गरे।
२०६५ सालदेखि कान्तिपुर मिडिया ग्रुपमा आबद्ध भएका रावलले झन्डै १० वर्ष नेपाल साप्ताहिक म्यागजिनमा बिताएका थिए। त्यसपछि उनी साढे तीन वर्ष कान्तिपुर टेलिभिजनको समाचार संयोजक बने।
ग्यालेक्सी टेलिभिजनमा समेत काम गरेका रावलले त्यहाँ डेढ वर्ष समाचार संयोजक र एक वर्ष सम्पादकको भूमिका निर्वाह गरेका थिए। बाजुराको साविक मार्तडी गाबिसमा जन्मिएका उनी पछिल्लो समय नेपाल खबर अनलाइनका सम्पादक थिए।
रावलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक पनि हुन्। उनको नियुक्तिले प्रधानमन्त्रीको सञ्चार व्यवस्थापनमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।