काठमाडौँ।
प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। मंगलबार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनबारे रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।
उनका अनुसार सरकार असंवैधानिक रहेको भनेर एउटा र प्रतिनिधि सभा विघटनविरूद्ध दुइटा रिट परेका छन्। प्रवक्ता कोइरालाले भने, 'रिट अध्ययनकै क्रममा छ। अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ्छ।'
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत भवनमा आगजनी भएको थियो, जसका कारण झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। त्यसयता सर्वोच्चले नयाँ मुद्दा लिएको थिएन। पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्थामा सर्वोच्च अदालतले मंगलबारदेखि नयाँ मुद्दा हेरेर अघि बढाउन लागेको हो। नयाँ मुद्दा बढाउने भनेको पहिलो दिन नै सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दा परेको हो।
जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो। प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।