काठमाडौँ।
दुई वर्षदेखि प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुर जिल्लाका बिपिन जोशी जीवितै फर्कने आशा अन्त्य हुँदै गएको छ। हमासले हिजो विपिन र तीन इजरायलीको भनेर चार शव इजरायललाई बुझाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
हमास समूहले दक्षिणी गाजा क्षेत्रबाट रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) मार्फत इजरायली सेनालाई शव बुझाएको खबरमा उल्लेख छ। बुझाइएका शवहरूको इजरायलको सैनिक अस्पतालमा डीएनए परीक्षणपछि मात्रै पुष्टि हुनेछ। हमासले विपिनसहितको शव बुझाएको भनेर इजरायली सञ्चारमाध्यमहरूले उल्लेख गरे पनि नेपाल सरकारले यसबारे आधिकारिक जानकारी दिएको छैन।
परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति निकालेर हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ। मन्त्रालयका अनुसार हिजो बिहान इजरायली सेना (आइडीएफ) ले इजरायलका लागि नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो।
बैठकमा इजरायली सेनाले रिहा हुने बन्दीमा जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको थियो। हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने विज्ञप्तिमा उल्लेख छ। विपिन जोशीको परिवार र सम्पूर्ण नेपाली समुदाय यो खबरले स्तब्ध भएका छन्।