काठमाडौँ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकास्थित शीतलपुर टोलमा जग्गासम्बन्धी विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा ६० वर्षीय वृद्ध शंकर साह बनियाको मृत्यु भएको छ। आइतबार बिहान फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर टोलका ५० वर्षीय कपिलदेव यादव, ४० वर्षीय विनोद यादव र सोही स्थानका ६० वर्षीय शंकर साह बनियाबीच जग्गासम्बन्धी विवादका क्रममा झडप भएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, झडपमा गम्भीर घाइते भएका शंकर साह बनियाको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो। उक्त झडपमा परेर कपिलदेव यादवकी ४० वर्षीया पत्नी मीना देवीको शरीरमा भित्री चोट लागेको पनि प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार झडपमा संलग्न व्यक्तिहरू हरिदेव यादव (विनोद), ब्रह्मदेव यादव र निजका २० वर्षीय छोरा सुरेश यादव फरार रहेका छन्।
मृतक बनियाको शव सोही अस्पतालमा रहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको तथा फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।