काठमाडौँ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले यसमध्ये १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।
प्राधिकरणले बीमा दाबीको सहज र शीघ्र भुक्तानीका लागि सक्रियता देखाएपछि द्रुत गतिमा अग्रिम भुक्तानी भइरहेको जनाइएको छ। हालसम्म कुल ३ हजार ९९ बीमा दाबीका आवेदन परेका छन्, जसमा सम्पत्ति, मोटर, इन्जिनियरिङ, परिवहन र अन्य बीमा समेटिएका छन्।
प्रदेशगत रूपमा बागमती प्रदेशमा सर्वाधिक १ हजार ६६९ दाबी परेका छन्। कम्पनीगत रूपमा सिद्धार्थ इन्स्योरेन्समा सर्वाधिक ५ अर्ब ६१ करोड ४४ लाख रुपैयाँको दाबी परेको छ, जसमध्ये ५९ करोड ४४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। दी ओरियण्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड ४७ लाखको दाबी परेकोमा ५ लाख ७० हजार भुक्तानी भएको छ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७५ करोड ९७ लाखको दाबीमध्ये ३० करोड ४३ लाख र शिखर इन्स्योरेन्सले २ अर्ब ४० करोड ८६ लाखको दाबीमध्ये ३१ करोड ९४ लाख भुक्तानी गरेको छ।
मुलुकभर १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। आन्दोलनका क्रममा निजी संरचनाको बीमा दाबी भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको भने बीमा नभएको पाइएको छ। यो विवरण असोज २३ गतेसम्मको हो।