काठमाडौँ।
रघुगंगा गाउँपालिका-२ सिरुवारीमा गएको पहिरोले कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी-जोमसोम-कोरला सडकमा यातायात प्रभावित भएको छ। यो सडक म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने र चीन तथा भारत जोड्ने महत्वपूर्ण मार्ग हो।
कालीगण्डकी नदीको तिरदेखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि सडकमा यातायात सञ्चालनमा समस्या भएको छ। यातायात व्यवसायी भोजबहादुर थापाका अनुसार, सिरुवारी र खामभित्ताको पहिरोले बेनी–जोमसोम सडकमा सामान्य वर्षा हुनेबित्तिकै सडक अवरुद्ध हुने, साँघुरो र हिलाम्मे हुने गरेको छ। यसले गर्दा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ। माथिबाट ढुङ्गा खस्ने जोखिमका कारण सावधानी अपनाएर यातायात सञ्चालन भइरहेको उनले बताए।
सडकमुनि कालीगण्डकी नदी र करिब ८०० मिटर माथि तथा २०० मिटर चौडाइको पहिरो छ, जसले माझखर्कको बस्तीलाई पनि जोखिममा पारेको छ। कोरला नाकामा सामान ढुवानी गर्ने ठूला कन्टेनरहरूले पनि यही सडक प्रयोग गर्छन्।
रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनका अनुसार, मुस्ताङ जाने आउने बस र अन्य गाडी सिरुवारीस्थित पहिरोको जाममा फस्ने गरेका छन्। साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिँदैन।
बेनी–जोमसोम सडकमा यो बर्खामा सिरुवारी र खामभित्तामा सबैभन्दा धेरै समस्या देखिएको छ। बेनी–जोमसोम–कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेर बर्खायामभर पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आएको योजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए। वर्षा रोकिएपछि पहिरो पन्छाएर सरसफाइ गरी दुईतर्फी गाडी चल्ने बनाउने योजना रहेको छ। सिरुवारीको ठूलो पहिरोको रोकथामका लागि अध्ययन भइरहेको र तत्काललाई मर्मत गर्दै यातायात सञ्चालन गरिएको उनले जानकारी दिए।
इञ्जिनियर चापागाईँले बेनी–जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको ठेक्का सम्झौताको तयारी भइरहेको पनि जानकारी दिए।