काठमाडौँ।
अविरल वर्षासँगै आएको बाढीपहिरोले पाँचथर जिल्लामा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीपहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको घरमाथिबाट झरेको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका १७ वर्षीय छोरा मिसेक नेम्बाङको मृत्यु भएको छ।
मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी छन्। सुकमाया आङदेम्बे: फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएकी छन्। धनबहादुर चेम्जोङ: फाल्गुनन्द–५ जौबारीका चेम्जोङ पनि पहिरोमा परी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले दिएको जानकारीअनुसार, वर्षाका कारण पाँचथरका अधिकांश सडक क्षतिग्रस्त भएका छन्। यसले गर्दा घाइतेहरूलाई सुविधासम्पन्न अस्पतालसम्म पुर्याउनसमेत समस्या भएको छ।
सरकारी निकायहरूले अवरुद्ध भएका मेची राजमार्ग, तमोर कोरिडोर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, फिदिम–फालोट लगायतका सडकहरू सञ्चालन गर्न मर्मत तथा सफाइका कामहरू थालेका छन्।
यस विपद्को घडीमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्।