काठमाडौँ ।
भदौ २४ गते सुदूरपश्चिम प्रदेशमा भएको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै १० करोड रुपैयाँ बराबरको क्षति भएको छ। कार्यालयका सूचना अधिकारी जगदीश जोशीका अनुसार आगजनी र तोडफोडबाट कुल ९ करोड ७४ लाख ५१ हजार रुपैयाँको क्षति भएको हो।
आन्दोलनकारीले मुख्यमन्त्री कार्यालयपरिसरमा रहेका ७ वटा चारपाङ्ग्रे सवारीसाधन, १३ सरकारी मोटरसाइकल र ३ वटा स्कुटर जलाएर नष्ट गरेका छन्। आगजनीबाट भवनको दोस्रो तलामा रहेको मुख्यमन्त्रीको कार्यकक्ष पूर्ण रूपमा ध्वस्त भएको छ भने लेखासम्बन्धी कागजात र तेस्रो तलामा रहेका प्रशासनका केही कागजात मात्र जोगिएका छन्।
कार्यालयका टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, टेलिभिजन, दराज, सोफा, भवनका झ्याल, ढोका, कार्पेट, मार्बललगायत सबै सामान नष्ट भएका छन्। केही सामान चोरीसमेत भएको बताइएको छ। मुख्यमन्त्री कार्यालयले तयार पारेको क्षतिको विवरणअनुसार कार्यालय र निवासमा रहेका भाँडाकुँडासमेत नभेटिएको जनाइएको छ।
यस आन्दोलनका क्रममा धनगढीमा रहेका अधिकांश सरकारी कार्यालयहरूमा आगजनी गरिएको थियो। जेन-जी आन्दोलनको चपेटामा परी सुदूरपश्चिम प्रदेश सभा भवन पनि तहसनहस भएको छ। प्रदेश सभाको बैठक सञ्चालन हुने बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, डिजिटल क्यामेरा, भिडियो क्यामेरा, फोटोकपी मेसिन, प्रिन्टर, एसीलगायतका सामान जलेर नष्ट भएका छन्, जसले गर्दा हल खण्डहरमा परिणत भएको छ।