काठमाडौँ।
नेपाली क्रिकेट टोलीले ऐतिहासिक सफलता हासिल गर्दै दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको यूनिटी कप टी-२० सिरिज जितेको छ। यूएईको शारजाहमा भएको सिरिजको दोस्रो खेलमा पनि सानदार जित हात पारेसँगै नेपालले टेस्ट खेल्ने राष्ट्रविरुद्ध पहिलो पटक सिरिज जितेको हो।
दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा १७३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रेको वेस्ट इन्डिजको टोली ८३ रनमै अलआउट हुन पुग्यो।
यसअघि सिरिजको पहिलो खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो। लगातार दुई खेल जितेर नेपालले सिरिजमा २-० को अग्रता लिँदै उपाधि कब्जा गरेको हो।
सिरिजको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ। यो ऐतिहासिक जितले नेपाली क्रिकेटमा नयाँ उत्साह थपेको छ।