काठमाडौँ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राईले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको 'श्रम संस्कृति पार्टी' को झन्डा नहुने बताएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत यसका पछाडि दुई मुख्य कारण रहेको स्पष्ट पारेका छन्।
मेयर साम्पाङले लेखेका छन्, "हाम्रो पार्टीको झन्डा रहने छैन। कारण २ वटा छन्। १. कपडाको नाश गर्न चाहनौँ। गरिबले नाङ्गो आङ ढाक्न नसकेको बेला करोडौँको कपडा च्यातेर झन्डा बनाउनु हुन्न। २. आफ्नो पार्टीको झन्डा बोक्न थाले देशको राष्ट्रिय झन्डाको माया नलाग्दो रैछ। त्यसैले हाम्रो पार्टीको झन्डा हुने छैन।"
निर्वाचन आयोगले साम्पाङको दल दर्ताको निवेदन अध्ययन गरिरहेको र दसैँ बिदा सकिएलगत्तै यस विषयमा निर्णय हुने बताएको छ।
धरानमा खानेपानी अभावलाई मुख्य मुद्दा बनाएर स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा विजयी भएका साम्पाङले श्रमदानमार्फत खानेपानीको समस्या समाधान गर्ने प्रयास गरिरहेका छन्। उनले देश बनाउन सबैले श्रममा जोड दिनुपर्ने बताउँदै आएका छन्।
जेनजी आन्दोलनबाट कांग्रेस-एमाले गठबन्धनको सरकार ढलेर मुलुकमा अन्तरिम सरकार गठन भइसकेको छ भने प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि चुनाव तोकिएको छ। यही राजनीतिक परिवेशमा मेयर साम्पाङले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन्।