काठमाडौँ।
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को मौका (पूरक) परीक्षा आज (मङ्गलबार) देखि गुल्मीमा सुरु हुँदैछ। यस जिल्लाबाट ५० विद्यालयका कुल ८६६ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए।
पूरक परीक्षा सञ्चालनका लागि गुल्मीमा तीन वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ, जहाँ ८२४ परीक्षार्थी सहभागी हुनेछन्। तम्घासस्थित महेन्द्र माविमा २० विद्यालयका ३४७ जना, सिद्धबाबा माविमा २५ विद्यालयका ३१४ जना र ज्ञानोदय माविमा १९ विद्यालयका १६३ जना परीक्षार्थीले परीक्षा दिनेछन्।
गुल्मीका चार विद्यालय (जिवनोद्वार मावि, हर्मिचौर मावि, भगवती मावि र देउराली मावि) का ४२ जना परीक्षार्थीलाई पायक पर्ने गरी गण्डकी प्रदेशको स्याङ्जाको गल्याङ वा वालिङमा परीक्षा केन्द्र सिफारिस गरिएको छ।
बुधबारसम्म चल्ने पूरक परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गरिएको छ। शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरिएको छ। जिल्ला परीक्षा समन्वय समितिले सम्पूर्ण परीक्षा केन्द्रहरूको अनुगमन गर्ने एकाइ प्रमुख घिमिरेले बताए। गोरखापत्र अनलाइन