काठमाडौँ।
गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा देशभरका २८ कारागार र ९ सुधारगृहबाट भागेका कुल १४ हजार ५५६ कैदीबन्दीमध्ये हालसम्म ६ हजार ९८४ जनालाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै ७ हजार ५७२ कैदीबन्दी फरार छन्।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेले पछिल्लो दुई दिनमा ६ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको जानकारी दिए। फरार रहेका कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेको उनले बताए।
जेनजी प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी भएपछि कैदीबन्दी भागेका थिए। सो घटनाका बेला १५ हजार ५२५ कैदीबन्दी भने कारागारमै बसेका थिए।
फरार रहेकाहरूको खोजी कार्य जारी रहेको विभागले जनाएको छ। भागेकामध्ये कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ कारागारमा फर्किएका छन्। बालसुधार गृहबाट ९ सय ६३ जना भागेका थिए।
प्रहरीले हिरासतमा रहेका २ हजार आरोपीसमेत फरार रहेको र उनीहरूको पनि खोजी जारी रहेको जानकारी दिएको छ। यस घटनामा १० जना कैदीबन्दीको मृत्यु भएको छ।
यस घटनाले कारागार सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरेको छ। फरार रहेका कैदीबन्दीहरूलाई यथाशीघ्र पक्राउ गरी कानुनको दायरामा ल्याउनुपर्ने चुनौती सरकारसामु छ।