काठमाडौँ ।
जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। हिमा गाउँपालिका–५ बाझगाडको भित्र वन भन्ने ठाउँमा गाईबस्तु चराउन गएका बेला भालुले आक्रमण गरेको हो।
भालुको आक्रमणमा परी हिमा–५ का ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने सोही गाउँका ३५ वर्षीया गणेश रोकाया सामान्य घाइते भएको स्थानीयवासी दलबिर रोकायाले जानकारी दिए।
दलबिर रोकायाका अनुसार, गम्भीर घाइते हरिचन्द्र रोकायालाई प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको छ। सामान्य घाइते गणेश रोकायाको भने स्थानीय स्तरमै उपचार भइरहेको छ।
स्थानीयवासीका अनुसार, बुधबार बिहान गाईबस्तु चराउँदै गर्दा अचानक भालुले आक्रमण गरेको थियो। आक्रमणको क्रममा भालुले केही गाईगोरु र भेडालाई पनि मारेको स्थानीयले बताएका छन्।
घटनापछि गाउँमा त्रास फैलिएको छ। वन क्षेत्र नजिकै गाउँ भएकाले यस्ता घटनाहरू बढिरहेको भन्दै स्थानीयले तत्काल नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले भालुको आक्रमणबाट बच्न र थप क्षति हुन नदिनका लागि आवश्यक कदम चाल्न माग गरेका छन्।