काठमाडौँ।
जेनजी प्रदर्शनका क्रममा सबैभन्दा बढी क्षति बेहोरेको भाटभटेनी सुपर स्टोरले आफ्ना कुनै पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने घोषणा गरेको छ। भाटभटेनी सुपर स्टोरका अध्यक्ष मिन बहादुर गुरुङले प्रदर्शनका कारण आफ्ना १२ वटा स्टोरहरू जलेर नष्ट भए पनि त्यहाँ कार्यरत कर्मचारीहरूको रोजगारी सुरक्षित रहने बताएका हुन्।
प्रदर्शनबाट प्रभावित शाखाहरूमा उपत्यकाभित्रका नक्साल, महाराजगञ्ज, बौद्ध (चुच्चेपाटी), कोटेश्वर र बालुवाटार रहेका छन्। उपत्यका बाहिरका पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका शाखाहरूमा पनि क्षति पुगेको छ। यी सबै शाखा पुनर्निर्माणपछि मात्र सञ्चालनमा आउनेछन्।
कम्पनीले क्षति पुगेका भाटभटेनीमा काम गर्ने कामदारहरूलाई अन्य सञ्चालनमा रहेका शाखा स्टोरहरूमा स्थानान्तरण गर्ने जनाएको छ। यसबाट कर्मचारीहरूको रोजगारी निरन्तर रहने सुनिश्चित गरिएको छ।
कम्पनीले यस विषम परिस्थितिमा पनि दसैँ पर्वलाई लक्षित गर्दै कर्मचारीहरूलाई भत्ता उपलब्ध गराइने घोषणा गरेको छ। हाल भाटभटेनीका विभिन्न स्टोरहरूमा १० हजारभन्दा बढी कामदार कार्यरत छन्। यो निर्णयले हजारौं कर्मचारीहरूलाई ठूलो राहत मिलेको छ। भाटभटेनीको यो कदमले संकटको बेलामा पनि आफ्ना कर्मचारीहरूप्रति कम्पनीको प्रतिबद्धता झल्काएको छ।