काठमाडौँ।
आज विश्वभर ‘विश्व बिरामी सुरक्षा दिवस’ मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाउने तयारी गरिएको छ । हरेक वर्ष सेप्टेम्बर १७ मा विश्वभर मनाइने यो दिवसले बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारहरूलाई संयुक्त प्रयास गर्न आह्वान गर्दछ ।
यस दिवसको मुख्य उद्देश्य बिरामी, उनीहरूका परिवार, हेरचाह गर्नेहरू, समुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता र नीति निर्माताहरूलाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरूको प्रतिबद्धता देखाउनु हो । यसले स्वास्थ्य सेवामा बिरामीको सुरक्षा सुनिश्चित गर्न सामूहिक जिम्मेवारी र सहकार्यको महत्त्वलाई उजागर गर्दछ ।
विश्व स्वास्थ्य संगठन (WHO) ले बिरामी सुरक्षालाई स्वास्थ्य सेवाको एक अभिन्न अंगका रूपमा परिभाषित गर्दै आएको छ । यस दिवसले स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउन, त्रुटिहरू कम गर्न र बिरामीहरूलाई सुरक्षित तथा गुणस्तरीय हेरचाह प्रदान गर्नका लागि जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।