काठमाडौँ ।
पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा 'एक्स्पोज नेपो किड' ट्रेन्ड तीव्र रूपमा फैलिएको छ । नेपालमा व्याप्त भ्रष्टाचार, नातावाद र असमानताविरुद्ध युवा पुस्ताले सञ्चालन गरेको यो अभियानले ठूलो चर्चा पाइरहेको छ, जसले नेपाली समाजमा गहिरो जरा गाडेको 'नेपोटिजम' अर्थात् नातावादमाथि सीधा प्रश्न तेर्साएको छ ।
'नेपो किड' वा 'नेपो बेबी' शब्द मूलतः मनोरञ्जन क्षेत्रमा प्रयोग हुने गरे पनि अहिले नेपालमा यसले राजनीतिज्ञ तथा प्रभावशाली व्यक्तिहरूका सन्तानलाई लक्षित गरेको छ । युवाहरूले टिकटक भिडियोहरूमार्फत नेताका छोराछोरीहरूको महँगो जीवनशैली, विदेश अध्ययन, विलासी गाडीहरू र उनीहरूले उपभोग गरिरहेका विशेष सुविधाहरूलाई उजागर गर्दै प्रश्न उठाएका छन्: 'यी सबै उनीहरूको व्यक्तिगत दक्षता र मेहनतको परिणाम हो, वा करदाताको पैसामाथि पालिएको विलासी जीवन ?'
#PoliticiansNepoBabyNepal ह्यासट्याग प्रयोग गरी बनाइएका यी भिडियोहरूमा युवाहरूको तीव्र आक्रोश र असन्तुष्टि स्पष्ट देखिन्छ । कतिपय भिडियोहरूमा राजदूतका सन्तानले पाएको विशेष सुविधालाई सार्वजनिक गरिएको छ भने कतिपयमा मन्त्री, सांसददेखि प्रधानमन्त्रीका सन्तानसम्मको विलासी जीवनशैली र विशेषाधिकारलाई देखाइएको छ । सामान्य नेपाली युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भइरहेका बेला राजनीतिक परिवारका सन्तानले यस्तो विलासी जीवन र विशेषाधिकार उपभोग गरेको दृश्यले समाजमा विद्यमान असमानता र अन्यायप्रतिको असन्तुष्टि झनै चर्किएको छ ।
यो अभियान केवल भर्चुअल दुनियाँमै सीमित नरहने संकेतहरू देखिएका छन् । रेडिटमा भइरहेका छलफलअनुसार 'नेपो किड' उजागर गर्ने यो अभियानलाई सडक आन्दोलनसम्म लैजाने तयारी भइरहेको छ । युवाहरूले सामाजिक सञ्जालमा गरिने आलोचनालाई दबाउनका लागि बन्द गर्ने प्रयास भएमा प्रत्यक्ष सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् । यसले नेपालमा नातावाद र भ्रष्टाचारविरुद्ध जनआक्रोश बढ्दै गएको संकेत गर्दछ ।