काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको दोस्रो दिनको बन्दसत्र एक घण्टा ढिला सुरु भएको छ। ललितपुरको हरिसिद्धि घुम्तीमा महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिको गाडीले एक बालिकालाई ठक्कर दिएपछि स्थानीयले बाटो अवरुद्ध गरेका कारण कार्यक्रममा ढिलाइ भएको हो।
अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले दुर्घटना भवितव्य भएको र यसलाई लिएर कसैले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजेको बताए। उनले भने, "सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घटनाप्रति दुःख व्यक्त गर्दछु। कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन्। तर भइदियो। त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो।"
दुर्घटनापछि स्थानीयले सडक जाम गराएका कारण गोदावरीस्थित सनराइज सभाहल जाने मुख्य सडक अवरुद्ध भएको थियो। हाल गोदावरीमा जारी बन्दसत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन पेश हुने क्रम जारी छ। अहिले निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले प्रतिवेदन पेश गर्दै छन्। प्रतिवेदन पेश भएपछि १० समूहमा छलफल हुनेछ। निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेश हुँदै छ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गरिसकेका छन्।