काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेर हदसम्बन्धी आफूले यसअघि राखेको प्रस्ताव कुनै व्यक्तिगत स्वार्थमा आधारित नभएको स्पष्ट पारेकी छन्।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले उक्त प्रस्ताव छलफलकै क्रममा सरकारको तर्फबाट राखिएको र यसमा कुनै एक कर्मचारीको स्वार्थ जोडिएको नरहेको बताइन्।
उनले भनिन्, "अवकाशको उमेर हदको विषयमा धेरै छलफल भयो, सबैले आफ्नो तर्क राख्नुभयो। मैले पनि सरकारको तर्फबाट आफ्नो धारणा र प्रस्ताव राखेँ, अनुरोध गरेँ। तर, मेरो आफ्नो व्यक्तिगत स्वार्थ थिएन। कसैको स्वार्थ पूरा गर्ने नाममा अनूचित काम गर्दिनँ भन्ने मेरो अठोट नै रहेको छ।"
मन्त्री न्यौपानेले कर्मचारीहरूको मनोबल उठाउने मनसायले नै अवकाशको उमेर हदसम्बन्धी प्रस्ताव राखिएको र यसमा व्यक्तिगत स्वार्थ नरहेको दोहोर्याइन्। उनले कुलिङ अफ पिरियड लगायतका विषयमा पनि समझदारीका साथ निर्णय भएको र संघीय निजामती विधेयक यही अधिवेशनमा जारी भएपछि प्रशासनिक संघीयता कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गरिन्।