काठमाडौँ ।
को धोबिनी गाउंपालिकाको कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्। गत आर्थिक वर्षमा गाउँपालिकाले विकास निर्माण कार्यमा गरेको खर्चको विवरण माग गर्दा उपलब्ध नगराएको भन्दै सोमबार दिउँसो साढे ११ बजेदेखि स्थानीयले कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन्।
स्थानीय सुनिल साहलगायतका व्यक्तिहरूले सूचनाको हक प्रयोग गर्दै गाउँपालिकाबाट भएका विकास निर्माण खर्चको प्रमाणित विवरण माग गरेका थिए। तर, कार्यालयले माग गरिएका सम्पूर्ण विवरणहरू उपलब्ध नगराएपछि बाध्य भएर तालाबन्दी गरेको स्थानीयहरूले बताएका छन्।
तालाबन्दीका कारण गाउँपालिका अध्यक्ष मदन चौहान, उनका समर्थक र कार्यालयका कर्मचारीहरू कार्यालयभित्रै थुनिएका छन्।
यस विषयमा बुझ्दा गाउँपालिका अध्यक्ष चौहानले भने, सुनिल साहलगायतका व्यक्तिले माग गरेको सूचना कार्यालयले उपलब्ध गराइसकेको छ। उनले थप टिप्पणी गर्दै यो तालाबन्दी राजनीतिक आग्रह–पूर्वाग्रहका कारण आफूलाई बदनाम गर्न गरिएको आरोप लगाए। अध्यक्ष चौहानले, "माग गरिएको सूचनामा केही कमी भए छलफलमार्फत समाधान गर्न प्रदर्शनकारीमध्ये दश जनालाई कार्यालयमा बोलाउँदा पनि वार्तामा नआई बाहिर होहल्ला गरिएको हो।"
कार्यालय परिसर बाहिर केही व्यक्तिले प्रदर्शन गरे पनि आफू र कर्मचारीहरू भित्र सुरक्षित रहेको जानकारी अध्यक्ष चौहानले दिए। सुरक्षा सुनिश्चित गर्न इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएका सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको उनले बताए। गत आर्थिक वर्षमा भएका विकास निर्माणमा व्यापक अनियमितता भएको भन्दै स्थानीयहरूले यो समाचार तयार पार्दासम्म पनि कार्यालय परिसर बाहिर प्रदर्शन गरिरहेका छन्।