काठमाडौँ।
उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारुढ दलहरूको प्रयास नेपाली काँग्रेसभित्रको विवादका कारण रोकिएको छ। प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउबाबीच उपसभामुखलाई हटाउने सहमति भए पनि कांग्रेस नेता डॉ. शेखर कोईराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल यस्तो कदम नचाल्न देउवालाई आग्रह गरेका छन्। उनीहरूले उपसभामुखलाई हटाउँदा नागरिक स्तरमा असन्तुष्टि बढ्ने र आगामी उपनिर्वाचनमा असर पर्ने भन्दै तर्क दिएका छन्।
उपसभामुख रानामगर विदेश भ्रमणमा रहेका बेला उनलाई हटाउने प्रस्ताव ल्याउनु न्यायोचित नहुने भन्दै जसपा नेपालले पनि विरोध गरेको थियो। रानामगर शुक्रबार स्वदेश फर्कंदै छिन्। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यसबारे कुनै निष्कर्षमा नपुगिएको बताए पनि एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने संसद्ले यस विषयको निरुपण गर्नुपर्ने बताएका छन्।
यो विवाद उपसभामुखले संसद्को ‘लेटरहेड’ प्रयोग गरी पाँच जनाको भिसा अन्तर्वार्ताको मिति अगाडि सार्न अमेरिकी दूतावासलाई पत्र लेखेको विषयसँग सम्बन्धित छ।