काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक सोमबार बिहान १० बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको एक पदाधिकारीले जानकारी दिए।
बैठकमा मुख्य दुईवटा एजेन्डामाथि छलफल हुने बताइएको छ। पहिलो, उपसभामुख इन्दिरा रानामगरले पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई पदबाट हटाउन भइरहेको हस्ताक्षर सङ्कलन र दोस्रो, रिक्त रहेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा पार्टीको तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ।
उपसभामुख रानामगरविरुद्ध कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन अभियान चलाइरहेका छन्। तर, यस कदमको पार्टीभित्रैबाट विरोध सुरु भएको छ। विशेषगरी महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. डॉ. शेखर कोईराला समूहले उपसभामुखलाई हटाउने प्रक्रियाको विरोध गरेपछि सभापति देउवाले यस विषयमा साझा धारणा बनाउन बैठक बोलाएको बुझिएको छ।
यसैगरी, सङ्घीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थालाई लिएर विवादमा परेपछि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त रहेको सभापति पदमा पार्टीको उम्मेदवार तय गर्ने विषय पनि बैठकको महत्त्वपूर्ण एजेन्डा रहेको छ।