काठमाडौँ।
भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा बंगलादेशको सामना गर्दैछ। यो खेल दुवै टोलीका लागि प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउन महत्वपूर्ण रहेको छ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ।
प्रतियोगितामा हालसम्म नेपाल र बंगलादेशले समान दुई खेल खेल्दै एक जित र एक हारको नतिजा निकालेका छन्। दुवै टोलीको समान ३-३ अंक छ, जसले आजको खेललाई थप प्रतिस्पर्धात्मक बनाएको छ।
नेपालले आफ्नो पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले हार बेहोरेको थियो भने दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै आयोजक भुटानलाई २-१ गोलअन्तरले पराजित गरेको थियो। आज बंगलादेशलाई हराउँदै नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।