काठमाडौँ ।
सरकारले बहुविवाहलाई प्रोत्साहन दिने गरी नयाँ कानून ल्याउन लागेको भन्दै सर्लाहीका महिला अधिकारकर्मीहरूले सदरमुकाम मलंगवामा धर्ना जारी राखेका छन्। जिल्लास्थित महिला अधिकारकर्मीहरूले ‘महिला अधिकारका लागि दबाब अभियान’ अन्तर्गत दुई दिनदेखि सहीद चोकमा विरोध प्रदर्शन गरिरहेका हुन्।
धर्नामा सहभागीहरूले ‘बहुविवाह सहदैनौं’, ‘नारी शोषण बन्द गर’, ‘महिलाको संवैधानिक अधिकार सुनिश्चित गर’ र ‘मेरो शरीर मेरो अधिकार’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। उनीहरूले महिलालाई विभेदमा पार्ने कुनै पनि किसिमको कानून आफूहरूलाई मान्य नहुने बताएका छन्।

महिला मानव अधिकार रक्षक सञ्जाल, सर्लाहीकी अध्यक्ष रम्भा झाले सरकारले महिलामाथि थप पीडा र विभेद थोपर्ने गरी कानुन ल्याउने तयारी गरेपछि त्यसको विरोधमा देशव्यापी अभियान सुरु भएको बताइन्। उनले सोही अभियानको एक भागको रूपमा सर्लाहीमा पनि धर्ना कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।
यसअघि, एक दर्जनभन्दा बढी महिला अधिकारसम्बन्धी संघ–संस्थाहरूले प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। उक्त ज्ञापनपत्रमा महिलालाई पछाडि पार्ने र विभेद गर्ने किसिमको कुनै पनि कानुन नल्याउन सरकारलाई चेतावनी दिइएको थियो।