काठमाडौँ ।
पाकिस्तानमा जारी मनसुनी वर्षाले विनाश निम्त्याएको छ। पछिल्लो २४ घण्टामा मात्रै वर्षासँग सम्बन्धित घटनामा परी थप ४६ जनाको मृत्यु भएको छ। योसँगै गत जुन २६ मा मनसुन सुरु भएदेखि ज्यान गुमाउनेको कुल संख्या ७०६ पुगेको देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA) ले जनाएको छ।
प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार, अधिकांशको मृत्यु भारी वर्षाका कारण घर र छाना भत्किएर भएको हो। यसबाहेक आकस्मिक बाढी, पहिरो, विद्युतीय करेन्ट र चट्याङका कारण पनि मानिसहरूले ज्यान गुमाएका छन्। खैबर पख्तुनख्वा प्रान्त मनसुनबाट सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ अहिलेसम्म ४२७ जनाको मृत्यु भइसकेको छ।
मनसुनी वर्षाले देशभरिको पूर्वाधार र निजी सम्पत्तिमा पनि व्यापक क्षति पुऱ्याएको छ। जुन २६ यता २,९३४ भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन् भने १,१०८ पशु चौपाया मरेका छन्।
त्यसैगरी, करिब ४५१ किलोमिटर सडक र १५२ वटा पुलमा क्षति पुगेको छ, जसको सबैभन्दा ठूलो मार खैबर पख्तुनख्वा र पाकिस्तान नियन्त्रित कश्मीरले खेपेका छन्।
अधिकारीहरूले आगामी दिनमा थप वर्षा हुने चेतावनी दिँदै जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई उच्च सावधानी अपनाउन आग्रह गरेका छन्।