काठमाडौँ ।
नेपाली काँग्रेसका सांसद नारायण प्रकाश साउदले सरकारले हवाई क्षेत्रलाई दिगो र भरपर्दो बनाउन तत्काल ध्यान नदिए एकाध बाहेक अधिकांश वायुसेवा कम्पनीहरू बन्द हुने स्थितिमा पुग्ने चेतावनी दिएका छन्। उनले नेपालमा भइरहेका हवाई दुर्घटनालाई सामान्य रूपमा लिन नहुनेमा पनि जोड दिए।
बुधबार सिंहदरवारमा बसेको संसदीय समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई तथा उड्डयन सुरक्षाका विषयमा कानूनविद्हरूसँग आयोजना गरेको छलफलमा भाग लिँदै सांसद साउदले सरकारले अराजकता र अनियमिततालाई प्राथमिकता दिन नसक्ने बताए।
"वायुसेवालाई दिगो, भरपर्दो बनाउनुपर्ने र यसको विकास गर्नुपर्ने दायित्व सरकारको हो," उनले भने, "यसलाई ध्यान नदिने हो भने एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति छ।"
सांसद साउदले सरकारमा बसेपछि कुनै पनि विषयमा सर्वाङ्गीण दृष्टिकोण राख्नुपर्ने आवश्यकता औंल्याउँदै हवाई सुरक्षा जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए।