काठमाडौँ।
नेपाल विद्युत प्राधिकरणको नाफामा भारी गिरावट आएको छ। कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएको चार महिनामै प्राधिकरणको नाफा ५ अर्ब ३९ करोड ५० लाख रुपैयाँले घटेको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.३२ प्रतिशतले कम हो।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र ऊर्जामन्त्री दिपक खड्काको जोडबलमा नियुक्त भएका शाक्यको कार्यकालमा प्राधिकरणको वित्तीय प्रदर्शन कमजोर देखिएको हो। यसैबीच, अघोषित लोडसेडिङ र दैनिकजसो बत्ती जाने समस्याले आम सर्वसाधारणले सास्ती भोगिरहेका छन्।
प्राधिकरणले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार, अघिल्लो वर्ष १३ अर्ब ३० करोड रुपैयाँ (करअघि) नाफा कमाएकोमा गत वर्ष यस्तो नाफा ९ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ। दुई वर्षअघि प्राधिकरणको नाफामा १०.१९ प्रतिशतले वृद्धि भएको थियो भने शाक्यको चार महिने कार्यकालमा नाफा ३७.३२ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।
प्राधिकरणले नाफा घट्नुको मुख्य कारण विदेशी मुद्रा विनिमय दरमा भएको वृद्धि, ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन नसक्नु र ग्रामीण इकाइ हस्तान्तरण गर्दा प्रशासनिक खर्च बढ्नुलाई देखाएको छ। यद्यपि, ‘ग्लोबल इकोनोमी’का अनुसार अघिल्लो वर्षको तुलनामा अमेरिकी डलरको विनिमय दरमा केवल २.९९ प्रतिशत मात्र वृद्धि भएको छ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार, प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनबापत २२ अर्ब ८० करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ। यही बक्यौता उठाउन खोज्दा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको चर्चा चल्ने गरेको छ।
गत चैत ११ गते प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट घिसिङलाई हटाउने निर्णय गरेलगत्तै चैत १२ गते शाक्यलाई नियुक्त गरेका थिए। उक्त नियुक्तिमा परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवाको समेत सहमति रहेको स्रोतले जनाएको छ।