काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै आफ्नो हत्याको प्रयास भएमा इरानमाथि भीषण मिसाइल आक्रमण गर्ने धम्की दिएका छन्। सामाजिक सञ्जाल 'ट्रूथ सोसल' मा एक पोस्ट गर्दै ट्रम्पले इरानले त्यस्तो कदम चालेमा अमेरिकाले सुरुमा १ हजार वटा मिसाइल प्रहार गर्ने र त्यसलगत्तै थप हजारौँ मिसाइलहरूद्वारा आक्रमण गर्ने बताएका हुन्।
ट्रम्पले अमेरिकी सेनालाई यसका लागि तयारी अवस्थामा रहन आवश्यक आदेश दिइसकेको दाबीसमेत गरेका छन्। उनका अनुसार यो सैन्य तयारी एक वर्षको अवधिका लागि गरिएको छ र आवश्यकता अनुसार यसको समय सीमा थप विस्तार गर्न सकिनेछ। इरानले आफ्नो हत्या गर्ने योजना बनाएको भन्ने रिपोर्टहरू सार्वजनिक भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो कडा र आक्रामक प्रतिक्रिया आएको हो। यसले अमेरिका र इरानबीचको तनावलाई थप उत्कर्षमा पुर्याएको छ।