काठमाडौँ ।
सप्तरीको सुरुङ्गा नगरपालिकाबाट प्रहरीको संयुक्त टोलीले करिब ९८ किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा बुधबार गरिएको छापामारीमा बगैँचामा लुकाइराखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले सुरुङ्गा नगरपालिका-११, नयाँटोलस्थित बिहुल खोला नजिकैको एक बगैँचामा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा बोरामा प्याक गरेर राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी टोली पुगेको थाहा पाएपछि तस्करहरू गाँजा छाडेर भागेको हुन सक्ने अनुमान गरिएको छ।
बरामद गरिएको गाँजालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी राखेको जनाएको छ।