काठमाडौँ ।
गुगलले नेपालमा आफ्नो चर्चित 'स्ट्रिट भ्यू' फिचर औपचारिक रूपमा सुरु गरेको छ। ललितपुरमा जारी 'डिजिटल नेपाल कन्क्लेभ, २०२५' को विशेष अवसरमा गुगलले यो महत्त्वपूर्ण घोषणा गरेको हो।
यो सुविधासँगै अब संसारको कुनै पनि कुनाबाट नेपालका सडक, गल्ली, सम्पदा र प्राकृतिक सुन्दरतालाई ३६० डिग्रीमा भर्चुअल रूपमा अवलोकन गर्न सकिनेछ।
गुगलले एक विज्ञप्ति जारी गर्दै 'स्ट्रिट भ्यू' मार्फत नेपालका अद्भुत भू–दृश्य र समृद्ध सांस्कृतिक सम्पदालाई विश्वसामु प्रस्तुत गरिएको जनाएको छ। कम्पनीका अनुसार, यसले नेपालको ऐतिहासिक वास्तुकला, प्राचीन मन्दिर, जीवन्त दरबार, चहलपहलयुक्त बजार र परम्परालाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्नेछ। उदाहरणका लागि, अब काठमाडौंका साँघुरा गल्लीदेखि मन्दिर र बजारसम्मको भर्चुअल यात्रा गर्न सकिनेछ। यो सुरुवातले विश्वलाई नेपालको अनुभव गर्ने एक नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ।
यो घोषणा गरिएको 'डिजिटल नेपाल कन्क्लेभ २०२५' आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको हो। यसको मुख्य उद्देश्य नीतिगत सुधार र डिजिटल क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई प्रवर्द्धन गर्नु रहेको छ।
कन्क्लेभमा डिजिटल शासन, सार्वजनिक पूर्वाधार, स्वास्थ्य, अर्थतन्त्र र सूचना प्रविधि उद्योगजस्ता महत्त्वपूर्ण विषयमा सत्रहरू सञ्चालन भइरहेका छन्। कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, नीति निर्माता, उद्यमी, विज्ञ र विद्यार्थी गरी ५०० भन्दा बढीको सहभागिता रहेको छ। साथै, १५ भन्दा बढी नयाँ डिजिटल परियोजनाहरू पनि प्रदर्शनीमा राखिएको छ।