काठमाडौँ ।
सरकारले विद्युतीय सवारी (ईभी) लाई प्रोत्साहन गर्ने नीति लिएसँगै नेपालमा ईभीको आयात ह्वात्तै बढेको छ भने अर्कोतर्फ पेट्रोलियम पदार्थको आयातमा क्रमशः गिरावट आएको छ। स्वदेशी ऊर्जा खपत बढाउने र वातावरणीय प्रदूषण घटाउने सरकारी नीतिको प्रभाव भन्सार तथ्यांकमा स्पष्ट देखिएको हो।
भन्सार विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३१ अर्ब ७५ करोड रुपैयाँ बराबरका १३ हजार ५६९ वटा विद्युतीय सवारी साधन भित्रिएका छन्। यो आँकडा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा निकै उच्च हो, जतिबेला ११ अर्ब ८४ करोड रुपैयाँका ४ हजार ५० वटा मात्र ईभी आयात भएका थिए।
यही अवधिमा पेट्रोलियम पदार्थको आयात भने घटेको छ। आव २०७९/८० मा ३ खर्ब ९ अर्ब ७० करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएकोमा आव २०८०/८१ मा यो घटेर २ खर्ब ८७ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ।
सरोकारवालाहरूले सरकारी नीति र उपभोक्ताको बढ्दो आकर्षणले यो परिवर्तन आएको बताएका छन्। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको खपत र आयात दुवै घटेको बताए। उनका अनुसार डिजेल-पेट्रोलबाट चल्ने गाडीप्रति आकर्षण घट्नुका साथै उद्योग तथा कलकारखानाहरूमा पनि विद्युत्को प्रयोग बढ्नुले इन्धनको खपत कम भएको हो।
नेपालमा भित्रिने अधिकांश ईभी चीन र भारतबाट आउने गरेका छन्। गत आर्थिक वर्षमा भएको कुल ईभी आयातको ७५ प्रतिशत हिस्सा चीनले ओगटेको छ। चीनबाट मात्रै २४ अर्ब ७३ करोड रुपैयाँ बराबरका १० हजार २१६ वटा ईभी भित्रिएका छन्। त्यसैगरी, दोस्रो ठूलो स्रोत भारतबाट ६ अर्ब ४६ करोड रुपैयाँ बराबरका ३ हजार २४६ वटा ईभी आयात भएका छन्।