काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (मंगलबार) सचिवालय बैठक आह्वान गरेको छ। दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयदेखि पार्टीका आन्तरिक मामिलाहरूसम्म छलफल हुने भएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठकको मुख्य एजेन्डा विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाबमूलक अभियान चलाउने र पार्टी सभापति रवि लामिछानेमाथि भएको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध सुरु गरिएको हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहनेछ।
यसबाहेक, बैठकमा रुपन्देहीमा हुन लागेको उपनिर्वाचनको तयारी, सुदूरपश्चिम प्रदेशमा देखिएको पार्टीभित्रको आन्तरिक समस्या, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थपको विषय, केन्द्रीय समिति बैठकको तयारी र पार्टीका विभिन्न विभाग प्रमुखहरूको नियुक्तिजस्ता महत्त्वपूर्ण सांगठनिक विषयमा पनि छलफल हुनेछ।