काठमाडौँ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएपछि कक्षा १२ को परीक्षाफलमा सुधार आएको बताएका छन् । सोमबार नतिजा सार्वजनिक भएपछि उनले स्थानीय सरकारको सक्रियताले पठनपाठनमा सकारात्मक प्रभाव पारेको बताए।
बोर्डका अनुसार, यस वर्ष कक्षा १२ को परीक्षामा कुल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो गत वर्षको तुलनामा उल्लेख्य सुधार हो। गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।
नतिजा सुधारको मुख्य कारणबारे अध्यक्ष शर्माले भने, “स्थानीय तहमा विद्यालयको जिम्मेवारी गएपछि पठन संस्कृति सुधार भएको छ। साथै, प्रश्नपत्रको मापदण्डमा गरिएको सुधारले पनि नतिजामा सकारात्मक प्रभाव पारेको हो।”
यद्यपि, समग्र नतिजामा सुधार देखिए पनि केही प्रमुख विषयहरूमा विद्यार्थीको प्रदर्शन कमजोर रहेको बोर्डले जनाएको छ। अध्यक्ष शर्माका अनुसार यस वर्ष अंग्रेजी, लेखा, सामाजिक र नेपाली विषयमा सबैभन्दा धेरै विद्यार्थी ‘नन-ग्रेड’ (अनुत्तीर्ण) भएका छन्। यसले ती विषयहरूको पठनपाठनमा अझै सुधार आवश्यक रहेको देखाएको छ।