काठमाडौँ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। सोमबार सम्पन्न स्थायी कमिटी बैठकले दुई पार्टीबीच एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको निर्णयबारे जानकारी दिँदै एकताका लागि मिति तय गरेर औपचारिक वार्ता सुरु गरिने बताए। "स्थायी कमिटी बैठकले चन्द नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ," उनले भने, "अब एकताका लागि वार्ता प्रक्रिया अघि बढ्छ।"
बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबद्ध रहेको सन्देश दिए। उनले अबदेखि पार्टीमा गुटबन्दीको अन्त्य गर्दै अझ सुदृढ एकताका साथ अघि बढ्ने सामूहिक सङ्कल्प लिइएको बताए।
यसैबीच, माओवादी केन्द्रले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। प्रवक्ता सापकोटाका अनुसार पार्टीको केन्द्रीय समिति बैठक दशैँपछि र तिहारअघि बस्ने तय भएको छ। त्यस्तै, पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग यात्रा अभियान भदौ १५ गतेदेखि पुनः सुरु गरी ताप्लेजुङसम्म पुर्याउने निर्णय पनि बैठकले गरेको छ।