काठमाडौँ।
पूर्व नवयुवराज हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’लाई लिएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेकी छिन् । जुम्लाको पहिचान विश्वमाझ पुर्याउने उद्देश्यले बनाइएको भनिएको उक्त भ्लगलाई लिएर लामाले शुक्रबार सामाजिक सञ्जालमार्फत शाह परिवारको ऐतिहासिक भूमिका र वर्तमान गतिविधिलाई लिएर गम्भीर प्रश्न उठाएकी हुन् ।
संघीय प्रतिनिधि सभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद लामाले हृदयेन्द्रको जुम्ला प्रवेशले ऐतिहासिक भूमिलाई 'अपवित्र' बनाएको टिप्पणी गरेकी छिन् । उनले शाहका पुर्खाहरूले देशलाई कंगाल बनाएको र दरबारमा ऐस आरामले हुर्केका व्यक्तिले जुम्लालाई चिनाउन आवश्यक नभएको जिकिर गरेकी छन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, "उसको पूरै वंश जिजु बाजेहरूले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा ऐस आरामले बिलासी जीवन बिताइरहेको, भोटे कुकुरको छाउरा हुर्केझैँ गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले जुम्लालाई चिनाउनुपर्छ र ?"
सांसद लामाले हृदयेन्द्रको भ्लगभन्दा अन्य स्थानीय ब्लगरहरूको सिर्जना उत्कृष्ट भए तापनि राजपरिवारको सदस्य नभएका कारण उनीहरूले चर्चा नपाएको भन्दै मिडिया र सामाजिक अभियन्ताको भूमिकामाथि पनि प्रश्न उठाएकी छिन् । उनले लेखेकी छिन्, "हृदयेन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जु लगायत धेरैको ब्लग अझ धेरै राम्रो र स्पष्ट छ, तर विडम्बना सिर्जनाको ब्लगले न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्यो न त कुनै मिडियाको हेडलाइन बन्यो । किनकि उनी राजपरिवारको सदस्य होइनन् ।"
उनले भ्लगमा देखाइएको जुम्लाको विकास २३८ वर्षे राजतन्त्रले नभई १५ वर्षे गणतन्त्रले गरेको दाबी गरेकी छिन् । "२३८ वर्षको राजतन्त्रले जुम्लामा सिटामोल पुर्याउन सकेन, गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवा लगायत अत्यावश्यक सामग्रीहरू पुर्यायो," लामाले भनिन्, "अहिले हृदयेन्द्र शाहको भिडियोमा देखिएको जुम्ला गणतन्त्र नेपालको उपज हो ।"
उनले शाहवंशले जुम्लामाथि ऐतिहासिक रूपमा दमन गरेको स्मरण गराउँदै अहिले हृदयेन्द्रको भ्रमणलाई नयाँ 'षड्यन्त्र' को संज्ञा दिएकी छिन् । "यो माया जालमा कुनै पनि सचेत जुम्लाका बासी फस्ने छैनन् भन्ने मेरो विश्वास छ," उनले लेखेकी छिन् ।
आफ्नो वक्तव्यको अन्त्यमा उनले गणतन्त्रको पक्षमा दृढता व्यक्त गर्दै भनेकी छिन्, "सिंहदरबार अब वंशको नामले होइन, जनताको विश्वासले पुगिन्छ । गणतन्त्र जिन्दाबाद !"