काठमाडौँ ।
उदयपुरका एक शिक्षक बलात्कारको आरोपमा पक्राउ परेका छन्। स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालय, मुसहरनियाँमा कार्यरत शिक्षक गजेन्द्र गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्थानीय २४ वर्षीया महिलाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। पीडितका अनुसार, शिक्षक गिरीले गत असार १७ गते चौदण्डीगढी–७, सातधारेस्थित एक होटलमा बोलाएर आफूमाथि जबरजस्ती करणी गरेका थिए।
इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख, प्रहरी निरीक्षक बबिन राईका अनुसार, पीडितले शिक्षक गिरीले घटनापछि पनि आफूलाई धम्की दिने, गालीगलौज गर्ने र मानसिक दबाब दिने गरेको उजुरीमा उल्लेख गरेकी छिन्। घटनाबारे कसैलाई जानकारी दिएमा नराम्रो हुने भन्दै गिरीले बारम्बार धम्क्याएको पीडितको आरोप छ।
उजुरीपछि प्रहरीले गत शनिबार गिरीलाई पक्राउ गरेको हो। जिल्ला अदालत उदयपुरबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।