खोटाङ । जन्तेढुंगा
गाउँपालिका-२ बोपुङको वासिङ
पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा
पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन ।
बुँवाखोलाबाट सुरु
भएको पहिरो १९९० सालको महाभूकम्पभन्दा पहिले नै सुरु भएको पितापुर्खाहरूले बताउँदै
आएको स्थानीय वृद्ध दीर्घमान राईले जानकारी दिए । ‘एक शताब्दीभन्दा पहिले सुरु भएको वासिङ पहिरोले दर्जनौँ घर तथा
सयौँ रोपनी खेतबारी बगाइसकेको छ । यो पहिरोको यकिन क्षतिको विवरण अहिलेसम्म कसैसँग
छैन । तर, बर्सेनि मानिसको घरबास उठाएको छ,’ उनले भने, ‘लामो समयअघिदेखि झर्न थालेको पहिरो
रोकथाममा कसैले चासो दिएको छैन । ठूलो क्षेत्र ओगटेर बर्सेनि झरिरहने पहिरो अब
रोकिने अवस्था पनि छैन ।’
जिल्लाको दक्षिणी
क्षेत्रमा पर्ने जन्तेढुंगा गाउँपालिका-१ देविस्थान र वडा नं २ बोपुङको सिमाना भएर बग्ने बुँवाखोलामा खसेको
पहिरोले अहिलेसम्म मानवीय क्षति नगरे पनि खोलाकिनारका खेतबारीलाई बगरमा परिणत
गरेको पाइएको छ । खेती गर्दै आएको धान खेत पहिरोले पुरेपछि उनीहरू बसाइँ सरेर
अन्यत्र गएका छन् ।
वासिङ पहिरोले हुवाला
र युराङका स्थानीयवासीले वर्षौँअघिदेखि आवतजावत गर्न प्रयोग गर्दै आएको गोरेटो
बाटोसमेत बगाएको युराङ निवासी वृद्ध दीर्घमानले जानकारी दिए । ‘पहिरो खसेको ठाउँमा पानीको मुहान छ ।
वर्षात्को समयमा पानी बगिरहने भएकाले अहिले पनि पहिरो झरिरहेको छ,’ उनले भने, ‘धेरै वर्षा भएको समयमा माथिबाट खसेको
पहिरोले बुँवाखोलासमेत थुनिने गर्छ । खोला खुनिएको अवस्थामा तल्लो क्षेत्रका
स्थानीयवासीलाई समेत जोखिममा पार्ने गरेको छ ।’
वासिङ पहिरोको कारण
आसपासका स्थानीयवासी वर्षात् सुरु हुनासाथ चिन्तित बनेर दिन तथा रात बिताउन बाध्य
छन् । करिब एक किलोमिटर क्षेत्रमा फैलिएर खसेको पहिरोका कारण धेरै मानिस आफ्नो पुर्ख्योली
थातथलो छाड्दै बसाइँ सरेर पूर्वी तराईका विभिन्न जिल्लामा घर निर्माण गरेर बस्दै
आएका छन् ।
वासिङ पहिरोभन्दा करिब
२०० मिटरमाथि सञ्चालित विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयका
प्रधानाध्यापक वीरेन्द्र राईले जानकारी दिए । ‘विद्यालयभन्दा केही तल डुम्रीबोटे र युराङ गाउँ छ । त्यो गाउँ नजिकैसम्म
पहिरो आइसकेको छ,’ उनले भने, ‘कुन बेला
के हुन्छ भन्ने पत्तो छैन । पहिरो नरोकिएकाले जुनसुकै बेला जे पनि हुनसक्छ । सबैले
सतर्कता अपनाउन जरुरी छ ।’
टाढाबाट हेर्दा डमरु
आधारको देखिने वासिङ पहिरोले साबिक बोपुङ गाउँ विकास समिति (गाविस)को वडा नं ८
वासिङ र वडा नं ९ युराङमा सबैभन्दा बढी क्षति गरेको जनाइएको छ । वासिङ पहिरोको बीच
भागमा बसोबास गर्दै आएका १५ घर स्थानीयवासी तल्लो क्षेत्रमा पहिरो सुरु हुनासाथ
अन्यत्र सरेर गएको स्थानीयवासीले बताएका छन् ।
निरन्तर खसिरहने वासिङ
पहिरो बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म सर्दै आइपुगेकाले धेरैवटा गाउँमा
जोखिम बढेको बोपुङका वडाध्यक्ष मस्तबहादुर राईले जानकारी दिए । ‘वासिङ पहिरोले वालिङ, हुवाला,
डुम्रेबोटे, आहाले, बाटुला
र खरबनीका स्थानीयलाई जोखिममा पारेको छ । वडा र गाउँपालिकाको बजेटले यो पहिरो
रोकथाम गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘वासिङ पहिरोलाई बेलैमा नियन्त्रण नगर्ने हो भने, आसपासका
धेरै मानिस बसाइँ सरेर अन्यत्र जानुपर्ने अवस्था छ । यस विषयमा सम्बन्धित निकायले
बेलैमा ध्यान दिन जरुरी छ ।’
बोपुङको वासिङ पहिरोले
देविस्थानको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय किसानले लगाउँदै आएका
धानबालीमा बर्सेनि ठूलो क्षति गर्दै आएको वडाध्यक्ष केदारमान राईले जानकारी दिए ।
छवटा वडा रहेको यो गाउँपालिकाको बोपुङसँगै अन्य वडासमेत पहिरो उच्च जोखिममा रहेको
गाउँपालिकाले जनाएको छ ।