काठमाडौँ ।
मानव शरीरलाई स्वस्थ र स्फूर्त राख्न पानी एक अनिवार्य तत्व हो। तर, व्यस्त जीवनशैली र विशेषगरी चिसो मौसममा हामी पानी पिउन बेवास्ता गर्छौं, जसले गर्दा शरीरमा पानीको मात्रा कम (डिहाइड्रेसन) हुन पुग्छ। स्वास्थ्य विज्ञहरूका अनुसार, शरीरमा पानीको कमीले शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असरहरू देखा पर्छन्।
चिसोमा तिर्खा कम लाग्ने भएकाले पानी कम पिइन्छ, तर शरीरलाई पानीको आवश्यकता गर्मीमा जत्तिकै हुन्छ। शरीरमा पानीको मात्रा थोरै मात्रै कम हुँदा पनि यसले ठूलो असर पार्न सक्छ।
पानीको कमीले देखिने मुख्य असरहरू:
१. शारीरिक क्षमतामा कमी: शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा पनि शारीरिक क्षमता १० प्रतिशतसम्म घट्न सक्छ। यसले गर्दा दैनिकीका सामान्य काम गर्न पनि गाह्रो र थकित महसुस हुन्छ।
२. सुक्खा र चमकहीन छाला: छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्न पानी अपरिहार्य छ। पानीको कमीले छाला सुक्खा, चाउरी परेको र निर्जीव देखिन्छ।
३. अत्यधिक थकान: पानीको कमीले रक्तचाप घट्ने, मुटुको धड्कन बढ्ने र मस्तिष्कमा रक्त प्रवाह कम हुन्छ, जसले गर्दा मांसपेशीहरू थाक्छन् र शरीर अत्यधिक थकित महसुस हुन्छ।
४. मुड खराब हुनु: जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनअनुसार, पानीको कमीले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि असर गर्छ। यसले मानिसलाई झोक्किने, रिसाउने, अल्छी हुने र काममा ध्यान केन्द्रित गर्न नसक्ने बनाउँछ।
५. शरीर चिसो हुनु: रगतमा रहेको पानीले शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ। पानी कम हुँदा शरीरले तापक्रम कायम राख्न सक्दैन र शरीर चिसो हुन्छ, विशेषगरी हात र खुट्टा।
६. टाउको दुख्नु: चिकित्सकहरूका अनुसार, शरीरमा पानीको कमी 'हेडेक' को एक प्रमुख कारण हो। पानीको कमीले मस्तिष्कको सेरोटोनिनको मात्रामा असर गर्दा टाउको दुख्छ। त्यसैले, टाउको दुख्दा तुरुन्तै एक-दुई गिलास पानी पिउनु फाइदाजनक हुन्छ।
७. कब्जियतको समस्या: पाचन प्रक्रिया र आन्द्राको स्वास्थ्यका लागि पानी आवश्यक छ। पानीको कमीले आन्द्रामा खानाको गति सुस्त हुन्छ, दिसा कडा हुन्छ र कब्जियत जस्तो पीडादायी समस्या निम्तिन्छ।
८. सास गन्हाउने: पानीको कमीले मुखमा र्याल उत्पादन कम हुन्छ, जसले गर्दा ब्याक्टेरिया बढ्छ र सास गन्हाउने समस्या हुन्छ।
९. आँखा धमिलो हुनु: पानीको कमीले मस्तिष्कमा रक्तसञ्चार कम हुँदा आँखा धमिलो हुने र तिर्मिराउने जस्ता समस्या देखिन सक्छन्, जसले काम गर्ने क्षमतामा ह्रास ल्याउँछ।
१०. ड्राइभिङ क्षमतामा असर: फिजियोलोजी एण्ड विह्याबियर नामक जर्नलमा प्रकाशित एक अनुसन्धानले देखाएअनुसार, शरीरमा पानीको कमीले ड्राइभिङ गर्दा ध्यान केन्द्रित गर्न कठिन हुन्छ, जसले दुर्घटनाको जोखिम बढाउँछ।
अतः, यी विभिन्न स्वास्थ्य समस्याबाट बच्न र शरीरलाई स्वस्थ राख्न नियमित रूपमा पर्याप्त मात्रामा पानी पिउनु अत्यन्तै जरुरी छ। आफ्नो स्वास्थ्यको ख्याल राख्न पानीलाई आफ्नो दैनिक जीवनको अभिन्न अंग बनाऔं।