काठमाडौँ ।
विभिन्न पूर्वाधार निर्माणका क्रममा काटिएका रुखको सट्टामा नयाँ बिरुवा रोप्न तथा हुर्काउन स्थापना गरिएको वन विकास कोषमा जम्मा भएको करिब तीन अर्ब रुपैयाँ ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ ।
शुक्रबारको गोरखापत्र दैनिकका अनुसार, विभिन्न आयोजनाका लागि काटिने रुखको सट्टा वृक्षरोपण र वन संवर्धन गर्न खडा गरिएको कोषको रकम उद्देश्यअनुरूप खर्च हुन सकेको छैन । वन तथा वातावरण मन्त्रालयका अनुसार हरेक वर्ष विभिन्न पूर्वाधार विकासका क्रममा करिब सवा एक लाख रुख काटिन्छन् । काटिएका रुखको क्षतिपूर्तिबापत नयाँ रुख रोप्नुपर्ने भए पनि कोषमा रकम जम्मा गर्ने तर वृक्षरोपण नगर्ने प्रवृत्तिले कोषमा रकम थुप्रिएको हो ।
वन विभागका वन अधिकृत प्रयास घिमिरेले चालु आर्थिक वर्षको मसान्तसम्म कोषमा २ अर्ब ९८ करोड ५७ लाख रुपैयाँभन्दा बढी जम्मा भएको तर सो रकम खर्च हुन नसकेको जानकारी दिए ।
वन ऐन, २०७६ अनुसार स्थापित कोषमा रकम जम्मा हुन थालेको हो । पछि वन नियमावली, २०७९ लागू भएपछि रुख काटेबापत सोझै वृक्षरोपण गर्नुको सट्टा कोषमा रकम जम्मा गर्ने प्रावधानले प्राथमिकता पाएको थियो । तर, जम्मा भएको रकमले वृक्षरोपण र वन विकासको काम अघि बढ्न नसक्दा कोषको प्रभावकारितामाथि प्रश्न उठेको छ ।