काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी विधानमा रहेको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमासम्बन्धी व्यवस्था हटाउने भएको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले विधान संशोधन प्रस्तावमाथि छलफल गर्दै यी महत्त्वपूर्ण व्यवस्थाहरू हटाउन सहमति जुटाएको हो ।
बैठकले केन्द्रीय पदाधिकारीको संख्या १५ सदस्यीय बनाउने निर्णय पनि गरेको छ । सुरुमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ११ सदस्यीय पदाधिकारीको प्रस्ताव पेस गरे पनि लामो छलफलपछि संख्या बढाएर १५ पुर्याउन नेताहरू सहमत भएको सचिव योगेश भट्टराईले जानकारी दिए । सहमति अनुसार यसअघि रहेको वरिष्ठ उपाध्यक्षको पद पनि हटाइनेछ ।
बिहीबार करिब १० घण्टासम्म चलेको बैठकमा विधान संशोधन प्रस्तावमाथि सबै सदस्यले धारणा राखेका थिए । अन्त्यमा अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रस्तावित विधानमा आफ्नो राय प्रस्तुत गरेका थिए ।
यो विधान संशोधन प्रस्तावलाई अब पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा छलफलका लागि लगिनेछ । ती कमिटीबाट पारित भएपछि आगामी भदौमा हुने विधान महाधिवेशनले यसलाई अन्तिम रूप दिनेछ । महाधिवेशनबाट पारित भएपछि नयाँ व्यवस्था पार्टीको ११ औं महाधिवेशनदेखि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।
यसैबीच, बैठकमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको पार्टीमा भूमिका र व्यवस्थापनबारे पनि छलफल भएको छ । उनको सम्मानजनक व्यवस्थापनका लागि शीर्ष तहमा थप छलफल गरेर उपयुक्त निर्णय लिइने नेताहरूबीच समझदारी बनेको बताइएको छ ।
पार्टीले शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको पोलिटब्युरो बैठक समय परिवर्तन गरी दिउँसो १ बजे बस्ने तय गरेको छ ।