काठमाडौँ ।
महिला युरोकप फुटबल प्रतियोगितामा आजबाट क्वाटरफाइनलका रोमाञ्चक खेलहरू सुरु हुँदैछन्। नकआउट चरणको पहिलो भिडन्तमा आज राति उपाधि दाबेदार मानिएको नर्वेले इटालीको सामना गर्दैछ।
यो खेल स्विट्जरल्यान्डको स्टेट डे जेनेभमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। समूह चरणमा अपराजित रहेको नर्वे समूह 'ए' को विजेताको रूपमा अन्तिम आठमा प्रवेश गरेको हो। उत्कृष्ट लयमा रहेको नर्वेले समूह चरणमा आयोजक स्विट्जरल्यान्ड र फिनल्यान्डलाई समान २-१ गोलले तथा आइसल्यान्डलाई ४-३ गोलले पराजित गरेको थियो।
यता, इटालीले भने समूह 'बी' को उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो। समूह चरणमा मिश्रित नतिजा निकालेको इटाली ले बेल्जियमलाई १-० ले हराएको थियो भने स्पेनसँग ३-१ ले पराजित भएको थियो। उसले पोर्चुगलसँग १-१ को बराबरी खेलेको थियो।
प्रतियोगिता अन्तर्गत अन्य क्वाटरफाइनल खेलहरूमा शुक्रबार राति स्विडेन र इङ्ल्याण्ड, शनिबार राति स्पेन र स्विट्जरल्याण्ड तथा आइतबार राति अन्तिम क्वाटरफाइनल खेल हुनेछ।
सेमिफाइनलका खेलहरू आगामी बुधबारबाट सुरु हुनेछन् भने प्रतियोगिताको फाइनल खेल जुलाई २७ मा हुने तालिका रहेको छ।